२०८२ असार २ गते , सोमबार
७३ बर्षीया खनालले लेखिन् कक्षा १२ को परीक्षा

काठमाण्डौ । आजबाट शुरु भएको माध्यामिक विद्यालय तहको कक्षा १२ को बार्षिक परीक्षामा ७३ बर्षीया वृद्धा सहभागी भएकीछन् । पढाईलाई उमेरले छेक्दैन भन्ने भनाईलाई सार्थकता दिँदै सूर्यवती खनाल परीक्षामा सहभागी भएकी हुन् ।
काठमाण्डौ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट उनले परीक्षा दिएकी हुन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।
प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक हुन् ।