मुख्यमन्त्रीको गृहजिल्लामा लगानीका लागि ६ परियोजना

बिर्तामोड । कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा ७१ वटा परियोजना सोकेसमा राखिएको छ ।
लगानी सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गृहजिल्ला झापाबाट ६ वटा परियोजना छनौट गरिएको छ । ती परियोजना मध्ये कृषि क्षेत्रबाट छुर्पी, चिया र कफी समेटिएको छ भने उद्योग अन्तर्गत जैविक मल उत्पादन तथा अनुसन्धान परियोजना रहेको छ । भौतिक निर्माण अन्तर्गत काँकरभिट्टामा बहु तले बस टर्मिनल रहेको छ ।
त्यस्तै फोहोर व्यवस्थापन अन्तर्गत ग्रामिण ठोस फोहोर व्यवस्थापन रहेको छ भने पर्यटन अन्तर्गत नेपालकै होचो भूभाग कचनकवलमा पार्क निर्माण रहेको छ ।
चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ ।
प्रदेश सरकारले सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधी र फोहोर प्रशोधनलगायतका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।