साढे ७ करोडमा किनेको सरकारी रक्सी २ करोडमा बेचिँदै

झापा । करिब ८ वर्षअघि सरकारले ‘ड्युटी फ्री’ मा किनेको सरकारी मदिरा बेच्ने तयारी अन्तिम चरणमा पुगेको छ । सिंहदरबारदेखि भद्रकालीसम्मको सडकमुनि ७ वटा गोदाममा रहेको वाइन, ह्विस्की, रम, जिन र ब्रान्डी रक्सी बिक्री गर्ने तयारी भएो हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भोलि बस्ने सञ्चालक समितिको बैठकमा सरकारी रक्सी बिक्री गर्ने प्रस्ताव पेश हुने छ ।
सञ्चालक समितिको बोर्ड अध्यक्ष आपूर्ति सचिव गोविन्दबहादुर कार्की, उद्योग मन्त्रालयका सह सचिव शिवराम पोखरेल, गृह मन्त्रालयका सह सचिव टोकराज पाण्डे, अर्थमन्त्रालयका सह सचिव अमृत लम्साल, कृषि मन्त्रालयका सहसचिव सवनम सिवाकोटी र कम्पनीको सीईओ रमेश आर्चाय सञ्चालक रहेका छन् ।
त्यस्तै, निर्पबहादुर बोहोरा र नानी महर्जन विज्ञ सञ्चालक रहेका छन् । यही सञ्चालक समितिमा सरकारी रक्सी बिक्री गर्ने प्रस्ताव पेश हुने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आर्चायले बताए ।
उनले भने, ‘हामीले अध्ययनको काम सकाएका छौं । सरकारी रक्सीको एउटा उपसमिति बनाएर अध्ययन पनि गरिएको छ । त्यो अध्ययनको प्रतिवेदन पनि तयार भएको छ भने भोलि बस्ने सञ्चालक समितिको बैठकले विभिन्न ब्रान्डका सरकारी रक्सी बिक्री गर्ने निर्णय प्रस्ताव हुने छ ।’
नेशनल ट्रेडिङले ती रक्सी भन्सार छुटमा ५ लाख ७३ हजार ५१७ अमेरिकी डलर (झण्डै साढे ७ करोड) खरिद गरेको थियो । ऋणमा फसेपछि नेशनल ट्रेडिङलाई ७६ सालमा खाद्य संस्थानसँग गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा गाभियो ।
संस्था गाभिएपछि नेशनल ट्रेडिङको चल अचल सम्पत्र् िखाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यवस्थापन गर्नुपर्ने भएपनि सरकारी रक्सी अलपत्र परेको थियो ।
गत असोजमा आएको बाढी गोदाममा पसेपछि रक्सीमा थप क्षति पुगेको छ । बाढीपछि रक्सी राखेको कार्टुन भिजेर रक्सी क्षति पुगेको थियो ।
२०७४ सालमा ३ लाख १३ हजार २१६ डलर बराबरको सरकारी मदिरा खान अयोग्य भनेर प्रतिवेदनमा उल्लेख भएको थियो भने, अहिले करिब २ करोडको मदिरा खान योग्य भएको अनुमान छ ।
कुन मदिरा कति प्रतिशत अल्कोहल भएको भन्ने पनि परीक्षण भइसकेको छ । वाइन ठड्याएर राखेका कारण बिग्रिएको बताइन्छ । ह्विस्की भने प्रायः सबै खानयोग्य छन् । भने, केहीको लेभल गएको छ । ह्विस्की उडेर केही बोतल मात्रै पनि रहेको छ ।