राजेन्द्र लिङ्देनसमेतको निर्देशनमा सुरज विश्वास र राजन गिरी मारिए : गणेश पोखरेल
भद्रपुर । २०६२/६३ को जनआन्दोलनको क्रममा राज्यपक्षबाट मारिएका सुरज विश्वास र राजन गिरीको १९औं स्मृति दिवस मनाइएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन कालमा २०६३ वैशाख ६ गते मारिएका झापाली शहिदहरु सुरज र राजनको स्मृतिमा आज कार्यक्रम आयोजना गरिएको हो ।
लोकतन्त्र स्थापनाका निमित्त भएको जनआन्दोनको क्रममा तत्कालिन नेपाली सेनाको गोली लागेर राजन र सुरजको मृत्यु भएको थियो ।
उनीहरुले साहदत प्राप्त गरेको स्मृतिमा शहीद सुरज विश्वास स्मृति पार्क सञ्चालक समितिले पार्क मै कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले त्यो बेलाको सम्झना गर्दै शाही कालका जिल्ला विकास समिति सभापति रहेका हालका झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङदेनसमेतको निर्देशनमा सेनाले चलाएको गोलीबाट होनाहार योद्धाहरु सुरज विश्वास र राजन गिरीले ज्यान गुमाउनु परेको बताए ।
कार्यक्रममा नेकपा एमाले झापाका उपसचिव अशारु राजवंशीले निरंकुश राजतन्त्रको समुल नष्ट गर्न संयुक्त आन्दोलनमा सुरज विश्वास र राजन गिरीले ज्यान गुमाउनु परेको बताए । उनले जनताले प्राण आहुति दिएर स्थापना गरेको गणतन्त्रमा हिजोका तिनै हत्याराका नाइकेहरु टाउको उठाउन थालेको धारणा राखे । घटना क्रमलाई मध्य नजर गर्दै लोकतन्त्रवादी शक्तिहरु एकजुट भएर जनतामा सेवा प्रवाह गर्न लागि परेको बताउँदै आदिवासी नेता राजवंशीले भने– ‘शहीदहरुका सपना हामी खेरजान दिने छेनौ ।’
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य शिवकुमार राजभण्डारी, कोशी प्रदेश सल्लाहकार माधव विद्रोही, लक्ष्मण पोखरेल, एमाले जिल्ला सदस्यहरु ब्रम्हलाल ढुङ्गाना, कालिचरण बस्नेत, बासु वनलगायतका नेताहरुको उपस्थिति रहेको नगर कमिटी सदस्य अभि प्रधानले जानकारी दिए ।
शहीद सुरज विश्वासको अर्धकदको प्रतिमामा माल्यार्पण गरी मौन धारण गरेर शुरु गरिएको कार्यक्रमको अध्यक्षता शहीद सुरज विश्वास स्मृति पार्क सञ्चालक समितिका अध्यक्ष गोपाल मण्डलले गरेका थिए । समितिका उपाध्यक्ष सन्ध्या हाडाले स्वागत र डिल्ली पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए । शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास । उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए । निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए । सोही क्रममा तत्कालीन शाही सेनाले प्रदर्शनकारीमाथि बर्बर दमन गर्न सुरु ग¥यो । सोही बेला झापाली दुई युवकलाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे ।