राप्रपा महामन्त्री राणा आइतबार छुट्ने
झापा । तीनकुने हिंसा घटनामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणा आइतबार छुट्ने भएका छन् । उनलाई शुक्रबार छाड्ने तयारी भएपनि कानुनी प्रक्रिया पुरा नभएपछि आइतबारसम्म पर्खनु पर्ने भएको हो ।
कानुनी प्रक्रिया पूरा नभएकाले आजै हिरासतमूक्त गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।
‘कानुनी प्रक्रिया पूरा हुन नसकेपछि उहाँ आज छुट्नुहुन्न,’ एसएसपी अधिकारीले भने । महामन्त्री राणा क्यान्सर सर्भाइभर हुन्। उनी उपचारका लागि भारत जानुपर्ने स्थिति रहेको भन्दै उपचारपछि कानुनी प्रक्रियामा सहभागी हुने गरी हिरासतमुक्त माग गरेका छन् ।
सरकार पनि उपचारका लागि पठाउन सकारात्मक देखिएको स्रोत बताउँछ । जसअनुसार प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको थियो ।
तर, गम्भीर प्रकृतिको अपराधमा अनुसन्धानका लागि हिरासतमा रहेकाले अदालतकै अनुमति चाहिने देखिएको प्रहरी स्रोतले बतायो ।
राणालाई चैत्र १५ गते तीनकुनेमा दुई जनाको ज्यान जाने गरी राजावादीले गरेको आन्दोलनको क्रममा प्रहरीले पक्राउ गरेको थियो ।