मासेमी फियाक चेस टुर्नामेन्टमा प्रथम बने दमकका सुमन श्रेष्ठ

बिर्तामोड । ‘मासेमी फियाक लिम्बु जन्मोत्सव र्यापिड बुद्धिचाल प्रतियोगिता २०८१’को उपाधि दमकका सुमन श्रेष्ठले जितेका छन् । मंगलबार मासेमी फियाक लिम्बुको जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा श्रेष्ठले ५२ प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम बनेका हुन् ।
विजेता बनेसँगै श्रेष्ठले नगद १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै ललितपुरका पुरुषोत्तम सिलवाल दोस्रो बने । उनले नगद ८ हजार रुपैँया प्राप्त गरे । तेस्रो बनेका झापाका सुश्रुत दाहालले नगद ५ हजार प्राप्त गरे ।
५५ बर्ष माथि उमेर समूहमा बसन्त लामा प्रथम र मनिराज डाँगी दोस्रो बनेका थिए ।
बिर्तामोड चेस क्लबको आयोजनामा भएको प्रतियोगितामा नेपाल च्याम्पियनहरु रुपेश जैसवाल, राजन सुवेदी, नविन तण्डुकार र बद्री नेपालीलगायत सहभागी थिए । क्लबका अध्यक्ष नारायण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यबाहक प्रमुख नगेन्द्र संग्रौला प्रमुख अतिथी र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रमको व्यवस्थापन मासेमी फियाक लिम्बुका बुवा होटल व्यवसायी किरन फियाकले गरेका थिए । कार्यक्रम अर्जुनधारा ११ बसपार्कस्थित होटल होराइजनमा भएको थियो ।