वनमा टुट्यो गठबन्धन, एक्लियो एमाले
बिर्तामोड । बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चार दल एक ठाउँमा उभिएसँगै तल्लो तहमा हुने गठबन्धन टुटेको छ । सत्ता घटक एमाले–कांग्रेसले विद्यार्थी, पत्रकारलगायत अधिकांश संरचनाको निर्वाचनमा गठबन्धन गर्दै आएपनि निचाझोडा वनमा भने कांग्रेसले एमालेको साथ छोडेको हो ।
निचाझोडामा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन बनाएका हुन् । उक्त गठबन्धनको तर्फबाट अध्यक्षमा कृष्णप्रसाद लिम्बूले उम्मेद्वारी दिएका छन् । त्यस्तै सो गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा, सचिव इन्दिरा अधिकारी बाँसकोटा, सहसचिव जीवन कार्की र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले उम्मेदवारी दिएका छन् ।
त्यस्तै आरक्षीत पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेती, मन्जु कट्टेल उप्रेती, जनजातितर्फ बुद्धराज लिम्बू, दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्दाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै पाँचवटा टोलतर्फ १ नं. टोलमा वीरबहादुर श्रेष्ठ, धनमाया फुँयाल, २ नं. टोलमा मेघराज पौडेल, लीलादेवी उप्रेती, ३ नं. टोलमा डिल्लीराम प्रसाई भीमा श्रेष्ठ, ४ नं. टोलमा राजकुमार लावती, सुनिताकुमारी राजवंशी तथा ५ नं. टोलमा खगेन्द्र कट्वाल र बन्दना लिम्बू उम्मेद्वार बनेका छन् । ती चारवटा दलहरुले समृद्ध वन स्वतन्त्र प्यानल भनेर नामकरण गरेका छन् । गठबन्धनलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको छ ।
उता नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको छ । नेकपा एमालेले सूर्य भट्टराईको अध्यक्षतामा प्यानल बनाएको हो । उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिव सृष्टि राई, सहसचिव लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईलाई उम्मेदवार घोषणा गरिएको छ ।
यस्तै, सदस्यहरुमा टोल नं. १ बाट खड्गप्रसाद प्रधान, रिता चौधरी, २ बाट भीम सुब्बा, रुपा घिमिरे, ३ बाट भीम अधिकारी, रञ्जु बराल, ४ बाट मनकुमार लिम्बू, सीतादेवी बस्नेत र ५ बाट प्रमिला घिमिरे, रिता खनाललाई उम्मेदवार घोषणा गरिएको छ ।
खुल्ला सदस्यमा पार्वता भुजेल, थलप्रसाद गदाईली (दलित), उर्मिला राई (खुल्ला महिला) र संजय लिम्बू (खुल्ला पुरुष) उम्मेदवार बनेका छन् । दुवै प्यानलले आइतवार मनोनयन दर्ता गराएका छन् ।
८३१ घरधुरी सदस्य रहेको निचाझोडा वनमा नेकपा एमालेको वर्चस्व रहँदै आएको थियो । यस पटक चार दलीय गठबन्धन बनेसँगै एमालेलाई बर्चस्व जोगाउने चुनौती थपिएको छ भने अन्य दललाई आफ्नो उपस्थिती जनाउने अवसर छ ।