सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा चित्लाङसँग भिड्दै बिर्तामोड

झापा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको आज (मंगलबार) हुने खेलमा झापाको बिर्तामोड र चित्लाङ फुटबल क्लब काठमाण्डौ भिड्ने भएका छन् ।
डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापा र काठमाण्डौको चित्लाङ फुटबल क्लब दुवैले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि तल्लो टुँडिखेलमा खेल भइरहेको हो । पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जीत हात पार्दै स्थान सुरक्षित पारेको छ । यस्तै, दोस्रो दिन गाईघाटले ब्वाइज फुटबल क्लब इटहरीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ ।
सेमिफाइनलका लागि बुधबार विभागीय टिम एपीएफ र बेलबारी फुटबल क्लब भिड्ने छन् । त्यसपछि क्वाटरफाइनल खेल हुने छ ।
पहिलो दिनको खेलबाट आयोजक सहिद भीमनारायण स्मृति धनकुटा भने प्रतियोगिताबाट बाहिरी सकेको छ । खेल अपराह्न ४ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र पाउँनेछन् । यस्तै, सबैभन्दा बढी गोल गर्ने, म्यान अफ दि म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।