राजावादी आन्दोलनका नाइकेहरु पक्राउ, प्रसाई फरार
बिर्तामोड । शुक्रबार राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनका कारण धनजनको ठूलो क्षति भएपछि आन्दोलनका नाइकेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
राजा फर्काउने आन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीलाई घरमा नजरबन्द गरिएको छ । उनलाई गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी भएका थिए ।
यता प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई भने फरार छन् ।
प्रदर्शनकारीहरुले तीनकुनेस्थित दुई वटा घर क्षतविक्षत बनाएका छन् भने नेकपा समाजवादीको पार्टी कार्यालय, जडीबुटी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले कैयन सवारीसाधनमा समेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले तितरबितर बनाएपछि भड्एिका आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् । त्यहाँबाट उनीहरुले घडी, मोबाइल र महंगा मदिरा लुटेर लगेका छन् ।
उनीहरुले तीनकुनेस्थित अन्नपूर्ण र कान्तिपुर दैनिकको कार्यालयमा समेत तोडफोडको प्रयास गरेका छन् ।
प्रदर्शनकारीले गराएको आगजनीमा परी एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ भने प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।