गणतन्त्र जोगाउन समाजवादी मोर्चा सडकमा : कांग्रेस, एमाले र रास्वपा मौन
बिर्तामोड । राजावादीहरु राजतन्त्रको पुनःर्स्थापनाको माग गर्दै सडकमा आउन थालेपछि गणतन्त्रवादी दलहरुसमेत शक्ति प्रदर्शनमा उत्रिएका छन् । आज काठमाण्डौको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजावादीहरुले प्रदर्शन गर्ने भएका हुन् ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । गणतन्त्र जोगाउन समाजवादी मोर्चा सडकमा आएपनि सत्ता घटक नेकपा एमाले र नेपाली कांग्रेस साथै राष्ट्रिय स्वतन्त्र पार्टी मौन बसेको छ । आफुलाई गणतन्त्र पक्षधर बताएपनि व्यवस्थामाथि खतराको संकेत पैदाहुँदा समेत उनीहरु सडक आन्दोलन गर्ने बिषयमा मौन बसेका हुन् ।
नेपाली कांग्रेसले यस अघिनै सडक आन्दोलन गर्नु नपर्ने निष्कर्ष निकालेको छ भने नेकपा एमाले समाजवादी मोर्चामा सामेल नभएकाले आन्दोलनमा सहभागी नभएको हो ।
फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ फर्कने क्रममा उनको स्वागतमा राजावादीहरुले काठमाण्डौमा वृहत प्रदर्शन गरेका थिए । सो प्रदर्शनबाट उत्साहित भएका उनीहरुले राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समिति बनाएका छन् । नवराज सुवेदी नेतृत्वको समिति बनाएपनि नेतृत्वको बिषयलाई लिएर राजावादी पक्षहरुबिच असन्तुष्टि बढेको थियो । अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई उक्त आन्दोलन समितिको कमाण्डर बनाइएको छ । नेकपा माओवादी, नेकपा एमाले हुँदै प्रसाई आफुलाई स्थापित गरेको बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाई व्यवसायिक शिलशिलामा युनाइटेड अरब इमिरेट्सका राजपरिवारका सदस्यसँग नजिकिएका थिए । एकाएक उनी मुस्लिम समुदायसँग सम्बन्ध छाडेर राजावादी आन्दोलनमा होमिएका छन् ।
राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईलगायत राजसंस्था पुनर्स्थापनाका लागि बल गरेर लागि परेका छन् । हजारौँको बलिदानीबाट प्राप्त गणतन्त्र खतरामा पर्ने महशुस गरी समाजवादी मोर्चासमेत यसको रक्षाका लागि तम्तयार अवस्था छ । तर ठूला र सत्ताघटक दुई दल नेपाली कांग्रेस र नेकपा एमाले भने राजधानी केन्द्रित आन्दोलनमा मौन बसेको छ । आफुलाई गणतन्त्रवादी बताउने रास्वपाले समेत आजको प्रदर्शनमा कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
राजधानीको कार्यक्रममा सहभागी नहुने एमालेले प्रतिगामीहरुलाई तह लगाउने भन्दै चैत्र ३० गते प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकमा जनसभा गर्ने भएको छ । बयलगाडा चढेर अमेरिका पुगिन्छ र भनेर एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई अहिलेको आन्दोलनसँग जोडेर विपक्षीहरुले आलोचना गरिरहेको बेला एमालेले दमकमा जनसभा गर्न लागेको हो ।
यता नेपाली कांग्रेसभित्र नै राजतन्त्रको पक्षमा वहस शुरु भएको छ । कांग्रेसको आउँदो महाधिवेशनमा हिन्दुराष्ट्र र राजतन्त्रको बिषयमा बहस गर्न सुझाव समेत संकलन भएको छ ।