प्रेस चौतारीको महाधिवेशनमा भावुक हुँदै राजेश राईले के भने ?
बिर्तामोड । प्रेस चौतारी नेपालका अध्यक्षको प्रत्यासीसमेत रहेका निवर्तमान उपाध्यक्ष राजेश राईले नेतृत्वमा माथि कैयन् प्रश्न तेर्स्याएका छन् । प्रेस चौतारीको १०औँ महाधिवेशनमा पार्टी नेतृत्वले सर्वसम्मत समिति चयनका लागि दबाब दिएपछि अध्यक्षको दाबी छोड्न बाध्य भएका राईले बन्द सत्रमा बोल्दै पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न गरेका हुन् ।
अध्यक्ष पदका लागि एकभन्दा बढी आकांक्षी भएपछि निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएका राईलाई नेतृत्वले अध्यक्षको दाबी छाड्न बाध्य बनाएपछि उनले बहुदलीय जनवादको प्रयोग गर्न खोज्दा पार्टी कसरी कमजोर हुन्छ ? भन्दै प्रश्न गरेका थिए । उनले आफुलाई नेतृत्वले प्रहार गरेको, घेराबन्दीमा पारेको जस्तो गुनासो गर्दै भावुक मन्तव्य राखेका थिए ।
हेर्नुहोस उनको मन्तव्यको सम्पादित अंश
‘मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई हेरेर, पढेर यहाँ आइपुगेको हुँ, जनताको बहुदलीय जनवादले भन्छ प्रतिष्पर्धाबाट श्रेष्ठता कायम गर । मैले भनेको आखिरी त्यतिमात्र थियो, मलाइ लाग्छ मेरो उम्मेदवारीमाथिको प्रश्न जनताको बहुदलीय जनवादमाथिको प्रश्न हो । हाम्रो मार्गदर्शक सिद्धान्तमाथिको प्रश्न हो यो समयले यो इतिहासले यो प्रश्नको निरुपण गरोस म तपाईहरुलाई छोड्दिन्छु ।
संगठन भनेको बलियोको कब्जामा हुँदा हुँदै निरिहलाई किन प्रहार गरिन्छ ? कब्जा त तपाईहरुकै हातमा थियो होला त्यो पनि समयले यो प्रश्नको निरुपण गरोस ।
हामी जुन व्यवस्थामाथि उभिएका छौँ, जुन प्रणालीमा उभिएका छौँ, हामी निर्वाचनहरु गछौँ, जति जति निर्वाचन गछौँ लोकतन्त्र त्यति समृद्ध बन्छ, सुन्दर हुन्छ, हरेक आवधिक निर्वाचन प्रणालीहरुमा लोकतन्त्र बलियो हुन्छ तर, हामीले त्यो लोकतान्त्रिक अभ्यास गर्दा हाम्रो संगठन किन बलियो हुँदैन, किन कमजोर हुन्छ ? यो प्रश्नको पनि निरुपण म आदरणीय नेतृत्वलाई आदरणीय अग्रजहरुलाई, साथीहरुलाई छोडिदिन चाहन्छु, मेरो यो माथि कुनै अतिरिक्त टिप्पणी छैन ।
प्रेस चौतरी नेपालको २२ बर्षे यात्रामा मेरो कम्प्युटरमा एउटा फोल्डरमा ४/५ हजार वर्ड फाइल रहेछ, त्यो सबै प्रेस चौतारी नेपालको रहेछ, २/३ हजार प्रेस विज्ञप्ति टाइपको फाइल रहेछ, त्यो सबै प्रेस चौतरी नेपालको रहेछ, गएको ३/४ वटा अधिवेशनहरुमा जे–जे प्रकाशन भए ती सबैमा सम्पादक म रहेछु । यी औँलाहरु हुन् जसले सबै भन्दा बढी प्रेस चौतारी नेपाल मैले टाइप गरेँ ।
अब केहि छिनमा नयाँ साथीहरु आउँदै हुनुहुन्छ म साथीहरुलाई भन्न चाहन्छु मैले अघि उठाएका प्रश्नहरु मैले तपाईहरुलाई त्यतिबेला मात्र बधाई दिन्छु, ती अघि इतिहासले सोधेको प्रश्न, इतिहासले दिएको जिम्मेवारी तपाईले पूरा गर्नुहुन्छ कि हुन्न ? यी अगाडी रहनु भएका साथीहरुलाई तपाईले सम्मानका साथ यो अगाडी रहनु भएको श्रमजीवी पत्रकार साथीहरुलाई तपाईले नयाँ उचाईका साथ सम्बोधन गर्न सक्नु हुन्छ कि हुन्न ? सक्नु भयो भने म त्यति बेला तपाईहरुलाई बधाई दिन्छु । पार्टीमाथि हरेक चौतर्फी प्रपोगाण्डा छ पार्टी अध्यक्षमाथि भएको चौतर्फी प्रपोगाण्डा छ त्यसको सामना गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यो गर्नुभयो भने मात्र म तपाईहरुलाई बधाई दिन्छु ।’
उनले ‘हिउँको नाम’ शिर्षकको कवितासमेत सुनाए । उनले सारमा हामी हुँदै नरहने हाम्रा नामहरु हामी नै नरहेपछि कसरी रहला हाम्रा नामहरु भन्दै व्यङ्ग गरे ।
‘मलाई माया गर्नुहुने साथीहरुलाई सँधै सम्मानको भावले हेरिदिन नेतृत्वलाई आग्रह गर्दछु ।
आदरणीय साथीहरु आज हामी यो अन्तिमको समापनको क्षणमा छौँ, अब केहि बेरमै यहाँ नामहरु प्रस्तुत हुनेछन्, फेरि मपनि यहाँहरुलाई भन्न चाहन्छु, आज हामी माथिको चौतर्फी घेराबन्दी, हामीमाथिको चौतर्फी प्रश्नहरुको उत्तर दिने अभियानमा साथीहरु हुनुहुन्छ, हामी छौँ, यो घेराबन्दीलाई हामीले तोड्नु छ, यो इतिहासले सोधेको प्रश्नहरुको उत्तर दिनु छ त्यसकारण यो हिउँको नामहरुको घर पाएन भनेर तपाईहरु दुःख नमान्नु होला तपाईहरुले मलाई हेरेर चित्त बुझाउनुहोला । यो संगठनमा २२ बर्षमा आफ्नो जिन्दगीको उर्बर समय बिताउँदै गरेको एउटा मान्छे हो, एउटा साथी हो म तपाइहरु सँग हाँसेर बिदा हुँदैछु । र, फेरिपनि अन्तिममा हामी काठमाण्डौ फर्कनु छ, म अन्तिममा इतिहासमा दुई तीनवटा कुरा दर्ज गराएर जानु पर्छ भन्ने लाग्छ, यो कुरा दर्ज गराउन चाहन्छु आज हामी एउटा अप्ठेरो मोडमा, कठिन मोडमा भएको कारणले होला आज प्रतिनिधीहरुको भावना पर्याप्त सम्बोधन भएन, यो सम्बोधन गर्नका लागि यो नेतृत्वले इतिहासमा यो निरुपण गरोस, जनताको बहुदलीय जनवादको प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन सिद्धान्त छ त्यसलाई अंगिकार किन गरिराको छैन, त्यसको समस्या के हो त्यसको अवरोध के हो त्यसको पनि निरुपण गरोस, पार्टीमा संगठनमा लोकतान्त्रिक अभ्यास गरिँदा संगठन कमजोर हुन्छ भन्ने भाष्य किन निर्माण भयो ? त्यसको पनि यो नेतृत्वले त्यसको पनि निरुपण गरोस ।
हामीलाई निर्वाचन गराइदिनुहोस, स्वस्थ्य प्रतिष्पर्धा गराई दिनुहोस भन्ने साथीहरुलाई पार्टी अथवा संगठन विरोधी भनेर प्रश्न गर्ने अवस्था किन आयो ? यो पनि इतिहासले निरुपण गरोस, समयले निरुपण गरोस । नेतृत्वलाई म गम्भीर रुपमा नोट गराउन चाहन्छु ।
म जित्दै गर्दा खेरी राजेश राई जित्दै गर्दा खेरी संगठन हार्छ, पार्टी हार्छ अध्यक्ष हार्छ भन्ने भाष्य कहाँबाट निर्माण भयो ? त्यो कोरल्ने कारखाना कहाँ हो ? किन त्यसो भनिन्छ ? त्यसको पनि म यो समयलाई यो नेतृत्वलाई निरुपण गर्न म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु । यो गर्नु पर्छ । अब राजेश राईहरु माथिको प्रश्न यो अन्तिम होस कि उसले अध्यक्ष लड्दा संगठन पार्टी कमजोर हुन्छ भन्ने प्रश्न यो अन्तिम प्रश्न होस । यो सप्तकोशीले बगाओस, कोशीले बगाओस, इतिहासले बगाओस र भोलि त्यस हिसाबले तपाईहरु माथि आइलाग्यो भने म त्यसको पक्षमा बोल्ने छु ।
यो २२ बर्षे इतिहासमा मलाई माया गर्नु भयो, आशिर्वाद दिनु भयो, साथ दिनु भयो, सहकार्य गर्नु भयो म तपाईहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
अघि एक घण्टा अघिसम्म मलाई तपाईहरुले अध्यक्षको रुपमा प्रिय साथी, प्रिय कमरेड, प्रिय भाई भनेर देख्नु खोज्नु भयो मैले तपाईहरुले देखेको, तपाईहरुको आँखाले देखेको सपना, तपाईहरुले चाहेको कुरा पूरा गर्न सकिन मलाई माफ गर्दिनु होला । म अध्यक्षको रुपमा होइन तपाईको साथीको रुपमा सँधै सँधै हुनेछु ।’