२०८३ बैशाख १९ गते , शनिबार

सिन्को नभाँची हिउँदे अधिवेशन अन्त्य गरिएपछि माओवादी केन्द्रको आपत्ति

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ७ गते , विहीबार
सिन्को नभाँची हिउँदे अधिवेशन अन्त्य गरिएपछि माओवादी केन्द्रको आपत्ति

बिर्तामोड । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन बिना कुनै ठोस उपलब्धी अन्त्य गरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । 'बिधेयक अधिवेशन' भनेर चिनिने हिउँदे अधिवेशन कुनैपनि महत्त्वपूर्ण विधेयक पारित नगरी अन्त्य गरिएपछि उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले हठात् रूपमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । 'सञ्चालनमा रहेको अधिवेशनलाई अचानक स्थगित गर्नु संसदीय परम्पराविपरीत रहेको हाम्रो ठहर छ। बिधेयक अधिवेशन भनेर चिनिने यो अधिवेशनमार्फत सरकारले एक दर्जनभन्दा बढी कानुन निर्माण गर्ने बताउँदै आएको थियो । तर, कुनैपनि महत्त्वपूर्ण विधेयक पारित हुन सकेन। त्यसको लागि सरकार स्वयं गम्भीर पनि देखिएन । आफैले ल्याएको नीति, कार्यक्रम, र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पूँजीगत खर्च तथा विपत पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए। यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ ।' विजिप्तिमा भनिएको छ, 'दोस्रो प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भइसक्दासमेत प्रदेशसभा सञ्चालन नियमावली पारित गर्ने प्रयास नहुनु आश्चर्यजनक छ । साथै, सांसदहरूले गैरसरकारी विधेयकको रूपमा प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक दर्ता गरे पनि, त्यसलाई छलफलमा लैजानु त परै जाओस्, बैठकमै पेश नगरी अधिवेशन अन्त्य गर्नु सरकारको कानुन निर्माणप्रति असंवेदनशीलता दर्शाउँछ । सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई वेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक छ ।'
पछिल्लो समयमा सरकारप्रति जनताको विश्वास खस्कँदै गएको सन्दर्भमा, जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभा जस्तो महत्वपूर्ण लोकतान्त्रिक मञ्चलाई निष्क्रिय तुल्याउनु गम्भीर विषय भएको माओवादी केन्द्रको ठहर छ । 'यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन, जिम्मेवारी पुरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ। हामी पुनः अन्यत्र अलमल नगरी जनताको अपेक्षा र प्रदेशको आवश्यकतालाई गम्भीरतापूर्वक लिएर अघि बढ्न हामी सरकारलाई सचेत गराउन चाहन्छौं,' मेरी आप्तीमा उल्लेख गरिएको छ ।
कोशी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले प्रदेश सभाको चालू छैठौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित समाचार