२०८३ बैशाख २० गते , आईतबार

माओवादीको तराई मधेस जागरण अभियान भोलिदेखि पुन: सुरु हुने

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ६ गते , बुधबार
माओवादीको तराई मधेस जागरण अभियान भोलिदेखि पुन: सुरु हुने

झापा । माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई मधेश जागरण’ हुलाकी राजमार्गकेन्द्रित अभियान रौतहट पुग्नबित्तिकै फागुन २४ अचानक स्थगित गर्‍यो । त्यही समयको सेरोफेरोमा राजावादी काठमाडौं, वीरगन्जलगायत सहरमा प्रदर्शन गरिरहेका थिए ।
झापादेखि कञ्चनपुरसम्म १ हजार ८ सय ४० किलोमिटरभन्दा लामो ‘ननस्टप’ यात्रा गर्ने बताएको माओवादीले उपलब्ध पदाधिकारी बैठकले रौतहटमा स्थगित गर्ने निर्णय गरेको थियो ।
स्थगित भएको अभियान बिहीबार बिहानदेखि बाराबाट सुरु हुँदैछ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत वरिष्ठ नेताहरू बारातिर लागिसकेका छन् ।
माओवादीले अब हुने अभियानको ढाँचा परिवर्तन गरेको छ । यसअघि दाहाल बिहानैदेखि बुलुकासम्म घरदैलो र सभामा केन्द्रित हुन्थे भने अब बिहानी हिडाइँमा अन्तरक्रिया र स्थानीय जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
माओवादी उपमहासचिव मात्रिका यादवले बाराबाट जागरण अभिायनको ढाँचा परिवर्तन हुने बताएका छन् । ‘अब अलि गुणात्मक ढंगले कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ । यसअघिको अभियानमा अध्यक्ष प्रचण्ड सबभन्दा बढी खट्दा समय धेरै खर्च भएको थियो । अबचाहिँ सबै नेता ठाउँ-ठाउँ केन्द्रित हुने कार्यक्रम छ,’ उनले भने, ‘अब अध्यक्षलगायत नेताहरूले जनतासँग अन्तरक्रिया गर्नुपर्ने छ ।’
मधेशका बारा र पर्सा सकेर बागमतीको चितवनमा अभियान चितवन आएर केही दिनका लागि रोक्ने तयारी छ । अभियान रोकेर दाहालसहित शीर्ष नेताहरू राजधानी फर्केर संसद् र अरु कार्यक्रममा केन्द्रित हुने योजना छ । ‘जागरण अभियान र संसद्लाई उत्तिकै प्राथमिकतामा राखेर कार्यक्रम गर्ने सल्लाह भएको छ,’ यादवले भने, ‘हामी पूर्ण रूपमा अभियानमा लाग्दा कांठमाडौंमा हस्तक्षेप नपुग्ने रहेछ ।’
फागुन १२ देखि झापाको कचनकवलबाट सुरु भएको राजनीतिक अभियान चैत तेस्रो साता सक्ने माओवादीको तयारी छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले राजनीतिक अभियानसँग संसद् र अरु केन्द्रीय कामलाई सँगसँगै लगिने बताए । ‘अब गुणात्मक खालका कार्यक्रम बनाएर जान्छौँ । बारा, पर्सा र चितवनको अभियान सकेर । केन्द्रीय काम (संसद् र अन्य) गर्न काठमाडौं फर्कन्छौँ,’ उनले भने, ‘समाजवादी मोर्चाले काठमाडौंमा गर्ने चैत १५ को प्रदर्शनपछि फेरि जागरण अभियान सुरु हुन्छ ।’

सम्बन्धित समाचार