माकेको झापामा ‘गौरीशंकर–चतुरमान संगठन सुदृढीकरण अभियान’ शुरु
बिर्तामोड । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ भन्ने नीति अनुरुप झापामा ‘गौरीशंकर–चतुरमान संगठन सुदृढीकरण अभियान’ शुरु गरिएको छ । पार्टीलाई ०६४ को अवस्थामा फर्काउन पुनः जनताको घरमा जाने कार्यक्रम अनुसार अभियानको सोमबार उद्घाटन गरिएको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको नवौँ बैठककै बिच अभियानको उद्घाटन गरिएको हो । सोमबार बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा पार्टीका उपमहासचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले अभियान उद्घाटन गरेका हुन् ।

बेपत्ता चतुरमान राजवंशीकी धर्मपत्नी पुजा खनाल
झापामा पार्टीको विजारोपण गर्ने नेता स्वर्गीय गौरीशंकर खड्का र बेपत्ता चतुरमान राजवंशीको नामबाट अभियानको नामाकरण गर्नुले पनि पार्टी कार्यकर्ताको घरदैलोतर्फ फर्कन खोजेको सहज अनुमान लाउन सकिने बेपत्ता चतुरमान राजवंशीकी श्रीमती पुजा खनालले बताइन् । उनले बेपत्ता, शहिद, घाइते र अपाङ्ग परिवारले पार्टी हाम्रै साथमा रहेको अनुभूति शुरु भएको बताइन् । २०६४ अघि नेताहरु कार्यकर्ताको घरमा जाने, उनीहरुको सुखदुख बुझ्ने गरेकाले बहुमत पाएको स्मरण गर्दै उनले जनता माओवादीकै साथमा रहेको तर नेतृत्वले उनीहरुको घरदैलोमा पुग्नुपर्ने सुझाव दिइन् ।
.jpg)
स्वर्गीय गौरीशंकर खड्काका दाजु ठगबहादुर खड्का
पार्टीको केन्द्रीय नीति अनुरुप आफु उत्पादनसँग जोडिँदा केहि अराजकतत्वहरुले आफुले पार्टी छोडेको भन्दै भ्रम फैल्याएको उनले बताइन् । मुलुकको राजनीतिक, सामाजिक परिवर्तनकै क्रममा आफ्नो श्रीमानसमेत बेपत्ता भएको हुँदा घाइतेअपाङ्ग, बेपत्ता र शहिद परिवारले माओवादी छाडनै नसक्ने उनले जिकिर गरिन् ।
त्यस्तै गौरीशंकर खड्काका दाजु ठगबहादुर खड्काले गौरीशंकर सालिन नेता भएको स्मरण गरे । ढिलै भएपनि पार्टीले आफ्ना शहिद, बेपत्ता र घाइते अपांग र उनीहरुको परिवार सम्झिएको भन्दै उनले खुशी व्यक्त गरे । नीति माओवादीको भएपनि नेतृत्व बयलगाडावालाहरुको हुँदा देशले अग्रगति लिन नसकेको भन्दै खड्काले माओवादीले पुनः मुलुकको नेतृत्व लिनुपर्ने बताए । माओवादी नेतृत्वमा नहुँदा शहिद, बेपत्ता र घाइते अपाङ्गहरुको सपना साकार हुन नसकेको खड्काको भनाई थियो । उनले पार्टीभित्रको गुटको राजनीति अन्त्य गरि पार्टीलाई बलियो बनाउने कार्यमा इमान्दारपूर्वक लाग्न नेताहरुलाई सुझावसमेत दिए ।
कार्यक्रममा अध्यक्षको मन्तव्यको क्रममा जिल्ला संयोजक राजु आचार्य अग्नीले मुलुकको पछिल्लो अवस्थाको बिषयमा गम्भिर बन्दै पार्टी निर्माणमा सबै एक जुट भएर लाग्न आग्रह गरे । उनले विगतलाई समिक्षा गर्दै नेताहरु बिचमा रहेको सबैखाले तिक्तताको अन्त्य गरि नयाँ शिराबाट पार्टी उठाउने कार्यमा लाग्नु अहिलेको आवश्यकता भएको औँल्याए ।
कार्यक्रममा पार्टीका प्रदेश इञ्चार्ज गजुरेल, सहइञ्चार्जहरु धर्मशिला चापागाई, साबित्रीकुमार काफ्ले (समर), जिल्ला इञ्चार्ज रञ्जित तामाङ, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रिय सदस्यहरु झलकबहादुर दर्लामी (सन्देश), लक्ष्मी न्यौपाने (सरु), हरिकुमार राना, लोकबन्धु कन्दङ्वा, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)लगायतको बाक्लो उपस्थिती रहेको थियो ।