२०८३ बैशाख २० गते , आईतबार

कांग्रेस नेता शेखरलाई बलबहादुरको प्रश्न : टिमको नेता बन्ने कि पार्टीको ?

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २४ गते , शनिबार
कांग्रेस नेता शेखरलाई बलबहादुरको प्रश्न : टिमको नेता बन्ने कि पार्टीको ?

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले वरिष्ठ नेता डा. शेखर कोइरालालाई टिमको नेता बन्ने कि पार्टीको ? भन्दै प्रश्न गरेका छन् ।
नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय विभागले आयोजना गरेको प्रदेशस्तरीय 'विदेशदेखि स्वदेशसम्म' कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केसीले नेता कोइरालालाई प्रश्न गरेका हुन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले कार्यक्रमका प्रमुख अतिथि डा. कोइरालालाई सिंगो पार्टीको नेता बन्न आग्रह गरेका छन् ।
पार्टीभित्र गुट मौलाएको र एउटा गुटको नेतृत्व गर्दै कोइराला महाधिवेशनबाट सभापति बन्ने दौडमा रहेको तर्फ इंगित गर्दै नेता केसीले गुटको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
'शेखर जी टिमको नेता बन्ने कि पार्टीको? कस्तो नेतृत्व गर्ने हो रोड म्याम चाहिन्छ, ' उनले प्रश्न गर्दै भने, 'जुन जगमा टेकेर यहाँ पुनु भयो त्यसलाई निरन्तरता दिनुस्, लतपत नगर्नुस्, अरुलाई दह्रो बनाउन लाग्नु भयो भने डुब्नु भयो, आफू दह्रो बन्न लाग्नुस् र तपाईं प्रतिको आशा बचाइराख्नुस ।'
पार्टीको नेतृत्व गर्न अरुको आलोचना गरेर मात्र नहुने भन्दै नेता केसीले सबैले आफ्नो नेतालाई गुटबाट बाहिर निकाल्न आग्रह गरे ।
गुटका कारण केही नेता कार्यक्रममा नै नआएको भन्दै केसीले कांग्रेस एक भएर जानु पर्नेमा जोड दिए । 'एक खालका नेता आज आएका छैनन्,' उनले भने, 'नेपाली कांग्रेस ठिक ढंगबाट चलिरहेको छैन, कांग्रेस एक भएर जानु पर्छ ।'
उनले पार्टीमा इमान्दारिताको खाँचो औँल्याए । नेताहरुले धेरै पटक हात मिलाएर संकल्प गरेपनि पार्टी एक हुन नसकेको बताए । रिटायरमा जान लागेको नेतृत्वले युवालाई हस्तान्तरण नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै नेता केसीले समय मै नसोच्ने हो भने कांग्रेस कागजमा मात्र सीमित रहने चेतावनी दिए । 

सम्बन्धित समाचार