नेपाली कांग्रेसको वैचारिक धार भुत्ते भएको छ : शेखर कोइराला
बिर्तामोड । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बैचारिक धार भुत्ते भएको बताएका छन् । शनिबार बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ कार्यक्रमका प्रमुख अतिथी कोइरालाले पछिल्लो समय नेपाली कांग्रेसको बैचारिक धार भुत्ते भएको बताउँदै त्यसलाई सबैको साथले धारिलो बनाउन सकिने विश्वास व्यक्त गरे । उनले त्यस धारलाई चम्किलो बनाउन आफु देशव्यापी घुमिरहेको बताए । ‘नेपाली कांग्रेसको वैचारिक धार जुन छ त्यो अलि भुत्ते भएको छ, खिया लागेको छ त्यो धारलाई चम्किलो बनाउन प्रयासरत छु, आफु देशव्यापी घुमिरहेको छु,’ उनले भने, ‘मलाई विश्वास छ तपाईहरुको सहयोगले, साथीहरुको सहयोगले नेपाली कांग्रेसको वैचारिक धारलाई हामी फेरी एकदम धारिलो बनाउन सकिन्छ भन्ने विश्वास छ ।’
नेता कोइरालाले पार्टी भित्र गुट रहेसम्म नेपाली कांग्रेस एक्लै चुनाव लड्न नसक्ने बताए । ‘जहाँ गएपनि साथीहरु भन्नु हुन्छ नेपाली कांग्रेस एक्लै चुनाव लड्नु पर्छ,’ उनले भने, ‘तर गुटबन्दी गरेर त एक्लै चुनाव हुन सक्दैन, लडन् सक्दैन, त्यो गुटबन्दीको अन्त्य त सबभन्दा पहिलो प्राथमिकतामा पर्यो नी हाम्रो ।’ गुटबन्दीकै कारण कतिपय इमान्दार कार्यकर्ता पाखा लागिरहेको नेता कोइरालाको भनाई थियो ।
पार्टीले गरेका खराब काममा सबैले खबरदारी गर्न सक्नु पर्ने नेता कोइरालाले बताए । नेपाली कांग्रेस सत्तामा भएको तर सरकारमा नभएको बताए । सत्ता गठबन्धनका लागि एमाले अध्यक्ष केपीसँग कुरा हुँदा ओली आफैँले एमाले र कांग्रेसको सरकार बन्नु पर्छ र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भनेर भनेकोसमेत खुलासा गरे । कांग्रेस सबैभन्दा ठुलो दल भएपनि सरकारको नेतृत्वमा नहुनुमा पार्टी सभापति शेरबहादुर देउवाले नै लिन नचाहेको तर्फ संकेत गरे ।
नेकपा एमाले नै कांग्रेसको प्रतिष्पर्धी भएको हुँदा सरकारलाई गुण र दोषका आधारमा निरन्तर खबरदारी गरिरहनु पर्ने उनले सुझाए । उनले पालिकास्तर सम्मै एमालेसँग संयन्त्र बनाएर देश चलाउने कुराले पार्टीको अस्तित्व समाप्त पार्ने उनको भनाई थियो । उनले के त्यस्तो आवश्यकता पर्यो र संसदको अधिवेशन बोलाउनुको साटो अध्यादेश ल्याइयो भन्दै सरकारलाई प्रश्न गरे ।
नेपाली कांग्रेस १५औँ महाधिवेशनको संघारमा भएकाले प्रत्येक कार्यकर्ताले पार्टी नेतृत्वलाई २०८२ चैत्र मसान्तभित्र महाअधिवेशन सम्पन्न गर्नका लागि खबरदारी गर्नसमेत सभापतिका आकांक्षीसमेत रहेका कोइरालाले आग्रह गरे ।