कुलमानको प्रसंगलाई जोडेर लिङ्देनले उठाए मन्त्रालयको कार्य सम्पादनमा प्रश्न
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्री र मन्त्रालयको कार्य सम्पादन मुल्याङ्कन (कासमु) मा प्रश्न उठाएका छन् । विहीबार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले कुलमान घिसिङले समयमा कासमु नबुझाएको भन्ने मन्त्री र सरकारले कासमु समयमा बुझाए त ? भन्दै प्रश्न गरेका हुन् ।
‘कुलमान घिसिङलाई एउटा म्याद तोकेर, एउटा समय तोकेर कार्य सम्पादन मुल्याङ्कन फारम भर्न लाउने अनि त्यो ढिलो ल्याएकै आधारमा कार्य सम्पादन मुल्याङ्कनमा शुन्य अंक दिने र त्यसको आधारमा कारबाही गर्ने भनेर भन्ने,’ उनले प्रश्न गरे, ‘तर, सरकार र मन्त्रीहरुको कार्य सम्पादन मुल्याङ्कन अस्ति भर्खर आयो त ?’ उनले यसो भनिरहँदा संसदमा पर्र ताली बजेको थियो । ‘प्रधानमन्त्रीको कार्यालयले नै उत्तीर्ण अंक ल्याएन सबभन्दा धेरै बजेट भएको, सबभन्दा धेरै काम गर्नुपर्ने, सबभन्दा धेरै जिम्मेवारी भएको भौतिक मन्त्रालयको ८ प्रतिशत पनि कार्य सम्पादन मुल्याङ्कन छैन, यिनीहरुलाई कसले कारबाही गर्ने ?’ उनले प्रश्न गरे ।
उनले सरकार आफै पहिला कारबाहीमा बस्नु पर्ने र सरकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने वा मन्त्रीहरु फेरिनु पर्ने अनिमात्र अन्य कर्मचारीलाई डण्डा चलाउन मिल्ने अध्यक्ष लिङ्देनले धारणा राखे । कुलमान घिसिङको प्रसङ्ग जोडेर लिङ्देनले सरकारलाई मन लागेको जेपनि गर्ने र अरु निरीह कर्मचारीलाई डण्डा चलाउने काम मान्य नहुने भन्दै चेतावनी दिए । उनले केके कुरामा आँखा लगाएर कुलमानलाई हटाउन अग्रसर भएको भन्दै पछाडी हट्न र परिस्थिती विग्रन नदिन उर्जामन्त्रीलाई आग्रह गरे ।
आठ बर्ष अघिसम्म ३५ अर्ब घाटामा गएको विद्युत प्राधिकरणलाई कुलमानले नाफामा लगेको प्रसंग जोड्दै जिम्मेवार मन्त्रीले संसदमा गलत तथ्याङ्क प्रस्तुत गर्न नहुने लिङ्देनको तर्क थियो ।