सुखानीमा कम्युनिष्टका छुट्टा छुट्टै कार्यक्रम
बिर्तामोड । पाँच जना झापा आन्दोलनका अगुवाहरुलाई तत्कालिन सरकारले हत्या गरेको सम्झनामा सुखानीमा प्रत्येक बर्ष फागुन २१ गते कार्यक्रम हुने गरेको छ । २०२९ फागुन २१ गते हत्या गरिएका सहिदहरु नेत्र घिमिरे, विरेन सिंह राजवंशी, रामनाथ दाहाल, नारायण श्रेष्ठ र कृष्ण कुइकेलको सम्झनामा फागुन २१ गते कम्युनिष्ट पार्टीहरुले स्मृति दिवस कार्यक्रम आयोजना गर्ने गरेका हुन् ।
पञ्चायती शासकले वामपन्थीहरुको आवाज दबाउन झापाको चन्द्रगढीबाट इलाम कारागार सार्ने बहानामा सुखानीमा पुर्याएर उनीहरुको हत्या गरेको दिनको सम्झनामा कम्युनिष्ट पार्टीहरुले सुखानीमा कार्यक्रम गर्ने गरेका छन् ।
यस बर्षपनि नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतको समाजवादी मोर्चा र नेकपा एमालेले स्मृति दिवसको आयोजना गरेका छन् । कार्यक्रम स्थलमा एकै पटक भेला भएपनि समाजवादी मोर्चाले अगाडी र नेकपा एमालेले पछाडी कार्यक्रम गरेका हुन् । नेकपा भएको बेला एउटै कार्यक्रम गरेका उनीहरुले पार्टी विभाजन भए पश्चात अलग अलग कार्यक्रम गर्दै आएका छन् ।
कार्यक्रम अलग अलग गरेपनि सहिदहरु साझा भएको र उनीहरुको सपना साकार पार्न सबै लाग्नुपर्ने एउटै स्वर रहँदै आएको छ । समाजवादी मोर्चाको तर्फबाट नेकपाका जिल्ला इञ्चार्ज सुमन सिं सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथी नेकपा माओवादी केन्द्र झापा इञ्चार्ज रञ्जित तामाङ थिए भने नेकपा एसका जिल्ला अध्यक्ष बेदराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा झापाका इञ्चार्ज सुमन सिंह सीले अबको बाटो समाजवाद र क्रान्ति समाजवादी क्रान्ति भएको बताए । मुलुक दलाल र नोकरशाही तानासाहहरुले कब्जा गर्न खोजिरहेको अवस्थामा क्रान्तिकारीहरुले मुलुक बचाउनका जाग्ने बेला आएको बताए ।
कार्यक्रमका अर्का वक्ता नेकपा माओवादी केन्द्रका झापा इञ्चार्ज तामाङले तत्कालिन निरंकुश शासकहरुले क्रान्तिकारी युवाहरुको हत्या गरेर आफ्नो लुट राज्य स्थापना गर्न सकिन्छ भन्ने दुषित मनसायले पाँच जना वामपन्थी युवाहरुको हत्या गरेको स्मरण गरे ।
मसानघाटमा बगाईसकेको राजतन्त्र व्युँताउने फोहोरी खेलको पछि केहि राजनीतिक दलहरु लागेको भन्दै तामाङले त्यस्तो दिवासपना नदेख्न चेतावनी दिए । मुलुक समाजवादको बाटो तर्फ अगाडी बढिरहेको वर्तमान परिवेशमा हजारौँ जनताले बलिदान गरेर फ्याँकिएको राजतन्त्र व्युँताउन खोजिए सुखानीका सहिदहरुजस्तै आफुहरुपनि मुलुकको लागि बलिदानी दिन तयार रहेको बताए ।
यता नेकपा एमाले इलामका अध्यक्ष गणेश बरालको अध्यक्षतामा अर्को कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले सुखानीका सहिदहरुले देखेको सपना पुरा हुन नसकेको बताए । अबका कम्युनिष्टहरुले सहिदको सपना साकार पार्न लाग्नु पर्ने उनको धारणा थियो ।
दुवै कार्यक्रमका सहभागीहरुले सहिदहरुको शाहदतस्थलमा पुष्प गुच्छा अर्पण गर्नुका साथै उनीहरुको सालिकमा माल्यार्पण गरेका थिए ।