बिर्तामोडको अनियमितता विरुद्ध राप्रपाले बुझायो ध्यानाकर्षण पत्र, बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामोड नगरपालिका भित्र भएका विकृति, विसंगति, भ्रष्टाचार र अनियमिता विरुद्ध ध्यानाकर्षण गराएको छ । राप्रपाले कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई एक पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
आइतबार राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा गएको टोलीले बिर्तामोड क्षेत्र भित्रका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण लगायतका बिषयमा भएका विकृति र अनियमिताको विषयमा नगर प्रमुखको ध्यानाकर्षण गराएको राप्रपा नगर सचिव विनोदकुमार आचार्यले जानकारी दिए ।
अनारमनी माविमा गणपुरक संख्या नपुगेकै अवस्थामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको भन्दै राप्रपाले उक्त समिति विघटन गर्न माग गरेको छ । त्यस्तै उसले विर्तामोडको बुधबारे हटियामा रहेको साना व्यवसायीलाई जबर्जस्ती डोजर लगाएर हटाएर हालसम्म पनि कुनै संरचना निर्माण नगरेका कारण के कारणका लागि सो जग्गा खाली गरिएको हो सो को जानकारी गराउन माग गरेको छ ।
बिर्ताबजारमा निर्माण सम्पन्न व्यापारिक भवन तत्काल सञ्चालनमा ल्याउन र नगरपालिका अगाडीको अस्थायी संरचना हटाएर मन्दिरको जग्गा संरक्षण गर्न पनि राप्रपाले माग गरेको छ ।
जनता आवास निर्माणमा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र निर्माण गरि अनुगमन गर्न समेत राप्रपाले माग गरेको छ ।
सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्ने गरिएको भन्दै तत्काल उक्त कार्य बन्द गरि निशुल्क शिक्षाको प्रबन्ध गर्न माग गरिएको छ ।
बिर्तामोड–९ मा ६५ लाख रुपैँयामा व्यक्तिको जग्गामा खानेपानी ट्यांकी निर्माण गरिएको भन्दै सोको फरफारक गराउन र उक्त जग्गा खानेपानी संस्थाको नाममा नामसारी गराउनसमेत माग गरिएको छ ।
भूमाफियाले सरकारी जग्गा अतिक्रमण गरिरहेको भन्दै तत्काल त्यस्तो कार्य बन्द गराउन र बिर्तामोड–६ मा रहेको भद्रपुर माविको जग्गा भूमाफियाले अतिक्रमण गरी किनबेच समेत गरेको भन्दै तत्काल सो जग्गा नापजाँच गरी भूमाफियालाई कारबाही गर्न समेत माग गरेको छ ।
विभिन्न २८ बुँदामा समेटिएको माग पार्टीको मात्र नभई आम बिर्तामोडबासीको माग भएको उल्लेख गर्दै उक्त ध्यानाकर्षणलाई बेवास्ता गरे आन्दोलन गर्ने राप्रपाले चेतावनीसमेत दिएको छ ।