संसदमा विधेयकको विरोध हुन्छ : शेखर कोइराला
विराटनगर । सत्तारुढ घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा विधेयकको विरोध हुने बताएका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा कोइरालाले यस्तो बताएका हुन् ।
सरकारले ल्याएको अध्यादेशबारे टिप्पणी गर्दै भने, ‘दुई जना चार जना बस्ने अनि ओलीजीले प्रधानमन्त्रीले भन्नुभयो अध्यादेश ल्याऊँ अनि ल्याइदिने ? देश त्यसरी चल्दैन । नेपाली कांग्रेसलाई थाहा नै छैन । चार जना बस्नु भयो अध्यादेश ल्याइदिनु भयो । ओलीजीले भन्नुभयो सभापतिले मान्दिनु भयो । त्यो तरिकाले पार्टी पनि चल्दैन । संसद्मा विरोध हुन्छ ।’
उनले अहिले नेपाली कांग्रेस सेकेण्ड पार्टीको रूपमा काम गरिरहनु विडम्बना भएको पनि बताए । ‘प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ति शुद्धीकरण सबै कम्युनिस्टहरुको हातमा छ । कांग्रेस बोल्न सकिरहेको छैन । किन बोल्न सकिरहेको छैन ?,’ उनले प्रश्न गरे ।
उनले अदालत शाही कालमा जति पनि स्वतन्त्र नरहेको दाबी गरे । ‘राजाको कार्यकालमा शाही आयोग खारेज गरेको होइन अदालतले ? त्यत्रो राजा ज्ञानेन्द्रको जगजगी भएको बेलामा ? शाही आयोग खारेज गर्ने त न्यायाधीश नै हुनुहुन्थ्यो नि त । अहिले त्यो आँट उहाँहरूको छैन । किन ?,’ उनले नियुक्तिदेखि नै भागबण्डा हुने गरेको कारण यस्तो भएको उल्लेख गर्दै भने ।
अर्को प्रसंगमा उनले कांग्रेसले आफ्नो कोर भ्यालु घटाउँदै गएको पनि दाबी गरे । ‘कांग्रेसको इमान के हो ? कांग्रेसको कोर भ्याल्यु के हो ? जुन बिपी कोइरालाले बनाएको कोर भ्यालु हो त्यो अहिले ह्रास आइरहेको छ,’ उनले भने ।