पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्ष बनाउने तयारी स्थगित
झापा । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन खोजेपछि माओवादी पार्टीभित्र प्रश्न उठेको छ । सम्मानित पदमा पुगिसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने भन्दै माओवादी नेताहरूले प्रश्न गरेका हुन् ।
पुस अन्तिम साताको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु पार्टीको मात्र विषय नभएको भन्दै यसले राष्ट्रपति र उपराष्ट्रपति पद मुलुककै सम्मानित पद भएको बताएका थिए ।
‘सम्मानित पदमा पुगेका व्यक्ति सक्रिय राजनीतिमा आउनु पार्टीभित्रको विषय मात्र होइन,’ उनले भने, ‘यो राष्ट्रिय पद र प्रतिष्ठानको विषय हो । राष्ट्रपति, उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गलत हुन्छ ।’ सोही स्थायी समिति बैठकमा अञ्जना विशंखेले पूर्वउपराष्ट्रपति पुन पार्टी राजनीतिमा आउन लागेको सन्दर्भमा प्रश्न उठाएकी थिइन् ।
पुस अन्तिम साता सकिएको केन्द्रीय समिति बैठकमा पनि यो विषय उठेको थियो । नेताहरू सुदन किराँती, इन्द्र आङ्बो, लेखनाथ न्यौपाने, कुलप्रसाद साम्बालगायत आधा दर्जन नेताहरूले पूर्वउपराष्ट्रपतिलाई सम्मानित अवस्थामै रहनु उचित हुने भन्दै सक्रिय राजनीतिमा आउन नहुने बताएका थिए ।
केन्द्रीय समिति बैठकमा उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउनेबारे प्रश्न उठेपछि हाल उनको सक्रिय राजनीतिको यात्रा रोकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा नियुक्त गर्ने तयारी गरे पनि विवाद भएपछि हाल स्थगित भएको छ । नेताहरूले पार्टी विधानलाई मिचेर पूर्वउपराष्ट्रपति पुनलाई मनोनीत गर्न नहुने धारणा राखेका थिए । २०८० फागुनको विधान सम्मेलनले नयाँ विधान पारित गरेको थियो । अध्यक्षले आफूले मन परेको व्यक्तिलाई विधानविपरीत मनोनयन गर्दा विधि बिथोलिने नेताहरूको भनाइ छ ।
दाहालले केन्द्रीय समिति बैठकमा उपराष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा आउन कुनै कानुनी बन्देज नभएको उल्लेख गर्दै आफैं सक्रिय हुन चाहेको बताएका थिए । ‘म फेरि पार्टीमा सक्रिय भएर काम गर्छु भन्नुभयो, त्यसैले आमन्त्रित रूपमा बैठकमा आउनु भएको हो,’ दाहालको भनाइ थियो ।
माओवादीका एक पदाधिकारीका अनुसार पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्षमा मनोनीत गर्ने तयारी हाल स्थगित भएको बताए । ‘उपाध्यक्षमा मनोनीत गर्ने तयारी थियो । पार्टीभित्र प्रश्न उठेपछि हाल स्थगित भएको छ,’ ती पदाधिकारीले भने ।