सांसदको अवकाश उमेर हद तोक्न माग
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद तोक्नुपर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् ।
संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद कार्कीले मान्छेको शारीरिक अवस्थालाई पनि ख्याल गरेर अवकाशको उमेर कानुनमा राख्नुपर्ने बताइन् ।
‘संविधानमा सांसदको योग्यताको विषय उल्लेख छ । २५ वर्ष उमेर पूरा भएको मान्छे सांसदको उमेदवार हुनसक्ने भन्ने छ । तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने भन्ने कुरा लेखिनुपर्दैन ? एउटा मान्छे कतिपटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ? ‘उनले भनिन्, ‘हाम्रो कानुनले व्यवस्था गरेको छैन, यो कानुनमै लेखिनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै, सांसद कार्कीले निर्वाचन प्रणालीमा सुधारको बहससँगै शासकीय प्रणालीको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । ‘संविधान संशोधनको कुरा चलिरहेको छ । अब निर्वाचन प्रणाली सुधारको बहससँगै शासकीय प्रणाली सुधारको बहस पनि सँगसँगै लैजानुपर्छ,’ उनले भनिन्, ‘हाम्रो पार्टीले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री भनिरहेको छ ।’