बिर्तामोड क्षेत्रमा अनुमति बिना विज्ञापन सामाग्री राख्न नपाइने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र अनुमति बिना विज्ञापन नगर्न पालिकाले सूचना जारी गरेको छ । मङ्गलबार एक सूचना जारी गर्दै पालिकाले अनुमति बिना विज्ञापन नगर्न र गरेको भए ७ दिन भित्र अनुमति लिनसमेत जानकारी गराएको छ ।
'प्रस्तुत विषयमा बाह्य विज्ञापन सामग्री राख्न विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ४ तथा बिर्तामोड नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम विज्ञापन गर्न चाहने फर्म, व्यक्ति, कम्पनी तथा संस्थाले नगरपालिकाको अनुमति लिएर मात्र विज्ञापन सामग्री राख्न पाउने ब्यवस्था बमोजिम बिर्तामोड नगरपालिकाको क्षेत्रभित्र ब्यावसायिक प्रयोजनका लागि राखिएका विज्ञापन सामाग्रीहरु (होडिङ्ग बोर्ड, भित्ते लेखन, फ्लेक्स प्रिन्ट, डिपिएस बोर्ड, पोल ब्यानर, डिजिटल बोर्ड, ग्लोसाईन बोर्ड, लाईट होल्डिङ्ग बोर्ड 2D/3D बोर्ड, स्वागतद्वार आदि) विज्ञापन सामग्रि राख्न अनुमति नलिएका विज्ञापन सामाग्री नगरपालिकाबाट हटाईने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अनुमति लिनहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा उल्लेख छ ।
उक्त समयभित्र अनुमति नलिएमा वा अटेर गरी विज्ञापन सामाग्री राखेको पाईएमा नगर कार्यपालिकाबाट हटाईने छ र सो सामाग्री हटाउँदा लाग्ने खर्च समेत विज्ञापनदाताबाट असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।