२०८३ बैशाख २० गते , आईतबार
झापाको कनकाई–६ मा मतदान शुरु
बिर्तामोड । रिक्त पदमा हुने उपनिर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा मतदान शुरु भएको छ । वडाध्यक्ष पदका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।
कनकाई–६ स्थित चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । सो वडामा २०५८ जना मतदाता रहेका छन् भने ९ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदाता परिचयपत्र नभए परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।