कनकाई–६ मा एक स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनका लागि एक जना स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट गणेशबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । थापालाई जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा समाजवादीले समर्थन गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, जनमत पार्टीबाट शुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर (महेन्द्र) तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
अधिकांश पार्टी र्यालीसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।
सो वडामा १०५८ महिलासहित २०५८ जना मतदाता रहेका छन् ।