चार दलद्वारा कनकाई-६ मा उम्मेदवार घोषणा
बिर्तामोड । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षका लागि चार दलले उम्मेदवार घोषणा गरेका छन् ।
यस अघि निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले गणेश थापालाई उम्मेदवार घोषणा गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितीमा पार्टीले थापालाई उम्मेदवार घोषणा गरेको थियो ।
त्यस्तै यस अघिको निर्वाचनमा बागी उम्मेदवारी दिएका लक्ष्मीप्रसाद ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडाध्यक्ष पदका लागि समर्थन गरेको छ । ओली २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वाडाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै जनमत पार्टीले शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरेको छ । आज बिहान कन्काई-६ स्थित चम्पापुर बजारमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सिके राउतको उपस्थितीमा राजवंशीलाई उम्मेदवार घोषणा गरिएको हो ।
यता नेकपा एमालेको तर्फबाट तुलाराम बस्नेतलाई अघि सारिएको छ । एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरीले बस्नेतलाई उम्मेदवार घोषणा गरेका हुन् । उनले स्थानीय स्तरबाट सर्वसम्मत रुपमा बस्नेतलाई सिफारिस गरिएको र त्यसलाई जिल्ला हुँदै केन्द्रले अनुमोदन गरेको जानकारी दिए ।
सो वडामा एक हजार पुरुष र एक हजार ५८ महिला गरी २०५८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।