माओवादी केन्द्रबाट गणेश थापा कनकाई-६ का उम्मेदवार
सुरुङ्गा । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरेको छ । पार्टीले गणेश थापालाई आधिकारिक उम्मेदवार बनाउने घोषणा गरेको हो ।
बिहीबार पार्टीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त वार्डका लागि स्थानीय युवा नेता तथा पार्टीका जिल्ला सदस्य गणेश थापालाई पार्टीका तर्फबाट उम्मेदवार घोषणा गरेका छन् ।
एक कार्यक्रमका बिच श्रेष्ठले खादा माला र अबिर लगाएर पार्टीका तर्फबाट थापालाई उम्मेदवार घोषणा गरेका हुन्।
कनकाई -६ का वडाध्यक्ष दीर्घ बहादुर थापाको केही समय अगाडी निधन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले माओवादी केन्द्रले सुशासन कायम गर्न खोज्दा सरकार ढालिएको बताउँदै जसको नीति उसैको नेतृत्व हुँदामात्रै यो व्यवस्थाको रक्षा हुने भएकोेले माओवादीका उम्मेदवारले जित्नु आवश्यक रहेको बताए । बर्तमान सरकारको रवैयाका कारण सरकार र यो व्यवस्थाप्रति जनताको नैराश्यकता बढेको बताउँदै संविधानको सहि कार्यान्वयनका लागि माओवादी नेतृत्व आवश्यक रहेको श्रेष्ठको भनाइ थियो।
'हामीले व्यावस्था त परिवर्तन गर्यौ अब अवस्था परिवर्तन गर्नुपर्छ, धनी झन धनी हुने गरिब झन गरिब हुने व्यवस्था हामीलाई चाहिएको होईन, सबैलाई समान पहुचमा राज्यको ध्यान पुर्याउन समाजवादसम्म पुग्नका लागि व्यवस्था परिवर्तन गरिएको हो,' नेता श्रेष्ठले भने ।