पूर्वमुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा
विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनसनस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा राखेर कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङतिर लगेको छ ।
अनसनस्थलमा कार्कीको समर्थन गर्न पुगेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले प्रहरी दमनको भत्र्सना गरेका छन् ।
‘प्रशासनले अनावश्यक रूपमा दमन गरेको छ, हामी संयमित छौं,’ मेयर कोइरालाले भने, ‘हामी यस्तो कदमको शान्तिपूर्ण रूपमा प्रतिवाद गर्नेछौं ।’
मंगलबार साँझ ठूलो संख्यामा अनसनस्थलमा पुगेको प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा लिने प्रयास गर्दा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो ।
कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले भने, ‘प्रहरीले यहाँ लाठी प्रहार गरेर करिब एक दर्जनलाई घाइते बनाएको छ ।’
पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा भवन अगाडि रहेको वनसखण्डी मन्दिर अगाडि अनसन बसेका थिए ।
१० वर्ष मुनिका बालबालिकाको निस्शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसनमा थिए ।
प्रहरीले प्रशासनले निषेधाज्ञा लगाएको क्षेत्रबाट हटेर सहयोग गरिदिन कार्कीलाई आग्रह गरेको थियो । तर, कार्कीले शान्तिपूर्ण रूपमा अनसन बसेको भन्दै हट्न अस्वीकार गरेका थिए ।
कार्कीलाई उनकै निवास बुढीगंगामा छोडिने प्रहरीले जनाएको छ ।