एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव पास हुन्छ : महामन्त्री शर्मा
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको भन्दै उक्त प्रस्ताव आइतबारको बैठकबाट पारित हुने बताए ।
शर्माको उक्त प्रस्तावलाई लिएर पार्टीभित्र बहस भइरहेको छ । महामन्त्री शर्माले भने त्यसबारे बैठकले साझा दृष्टिकोण बनाउने र सहमतिबाट पारित गर्ने दाबी गर्छन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने भन्दै उनले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने बताए ।
महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए । उनले उक्त दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए ।
उनले भने, ‘कांग्रेसमा अहिले १, २, ३, ४ भन्ने सुन्नुभएको होला । यो देशमा खाली प्रधानमन्त्री एकै अनुहारहरू पटक-पटक हुने अवस्था छ । नागरिकलाई ताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनैपनि राजनीतिक दलले कसैलाई पनि दुई पटक राष्ट्रपति बनाउन पाउँदैन, यो देशको राष्ट्रपति एक व्यक्ति एक पटकमात्रै राष्ट्रपति बनेर शितलनिवासबाट बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा चार पटक, छ पटकसम्म प्रधानमन्त्री हुनुभयो रे भन्ने सुनिरहन अबको युवा पुस्ता तयार छैन । त्यसकारण अब प्रधानमन्त्री जतिसुकै लोकप्रिय भएपनि, जनताको जतिसुकै रुवावासी चलोस्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनुहुँदैन ।
उनले आफूले पार्टीमा गरेको त्यो प्रस्तावमाथि विवाद भइरहेको भएपनि आइतबारको बैठकले निष्कर्षमा पुर्याउने बताए ।