कोशीका मुख्यमन्त्रीलाई चेतावनी : कार्यक्रम सच्याउनुस नत्र सडकमा भेट हुन्छ
बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आफुले अगाडी सारेका जनसरोकारका कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन् । उनले कार्यक्रम नसच्याए सडकमा भेट हुने भन्दै चेतावनीसमेत दिएका छन् ।
सत्ता सहकार्य गरेको दलका नेता कार्कीले नै मुख्यमन्त्रीलाई चेतावनी दिएका हुन् । शुक्रबार संसदमा बोल्दै पूर्व मुख्यमन्त्री कार्कीले आफू विद्रोही भएको भन्दै आफूले सुरु गरेका कार्यक्रमहरू पुनः सुरु नगरे भोक हड्तालमा उत्रने चेनावनी पनि दिए । ‘पार्टीलाई पनि नटेरिकन मुख्यमन्त्री बन्नसक्ने व्यक्तिले जनताको पक्षमा उभिएर भोक हड्ताल गर्न सक्छ र भोक हड्ताल बस्दा माला लगाएर होइन, कात्रो लिएर बस्छ,’ उनले भने, ‘जनताका पक्षमा, आम जनताका बालबालिकाको जीवन रक्षाका लागि, आम बालबालिकाको शिक्षाको लागि, आम ती महिला स्वयंसेवीहरूका लागि माला लगाएर होइन, आफैँ कात्रो किनेर आफैँ अनसन बस्न सक्छु ।’
उनले मुख्यमन्त्री कार्कीलाई कार्यक्रम सच्याउन सात दिने अल्टिमेटम दिँदै भने, ‘सात दिनभित्र सच्याउनु भएन भने आठौँ दिनमा सडकमा भेट हुन्छ र मुख्यमन्त्रीज्यूले कात्रो लिएर आउनु होला ।’
प्रदेश सभामा बोल्ने क्रममा पूर्वमुख्यमन्त्री कार्कीले आफू जनप्रतिनिधि पनि भएको र जनप्रतिधिले ‘जेजे बाहुन बाजे, उसैउसै जजमान नगर्ने’ घोषणा गरे । ‘असल जनप्रतिनिधिले खबरदारी गरिरहन्छ,’ उनले भने ।
उनले आफ्नो नेतृत्वको सरकार हुँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम, शैलजा आचार्यको नाममा स्थापना गरिएको हृदय रोग अस्पताल, महिला स्वयंसेवीलाई सेवा सुविधा वृद्धि गर्ने कार्यक्रम वर्तमान सरकारले नराखेको भन्दै आक्रोश व्यक्त गरे । ‘शैलजा आचार्य हृदयरोग अस्पताल अघिल्लो मुख्यमन्त्रीले सुरु गरेको । त्यही भएर बजेटमा नामोनिसाना मेटियो,’ कार्कीले आक्रोशित हुँदै भने, ‘तर, अघिल्लो मुख्यमन्त्री बसेको सिटमा त बसेको देखेकै छु । गाडीमा पनि चढेको देखेकै छु । छोइछिटो लाएर चढेको हो कि ?’
पूर्वमुख्यमन्त्री कार्कीले बोल्न सुरु गर्दा मुख्यमन्त्री कार्की भने प्रदेश सभाबाट बाहिरिए । जब उनले बोलिसके, मुख्यमन्त्री कार्की पुनः प्रदेश सभा प्रवेश गरे ।