झापा माओवादीमा प्रवेश गर्नेको लर्को
बिर्तामोड । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या झापामा बढेको छ । दैनिकजसो हुने कार्यक्रममा पार्टीमा प्रवेश गर्नेहरुको लर्को नै लाग्ने गरेको छ ।
बुधबार झापाको अर्जुनधारामा आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको दोस्रो नगर सम्मेलनमा अर्जुनधारा वडा नम्बर १ का एमालेका पूर्व वडाध्यक्ष विरबहादुर राईसहित दर्जनौँ युवाले पार्टी प्रवेश गरे । पूर्व प्रहरीसमेत रहेका राईले दलित, जनजाति आदिवासीको मुद्धा, पहिचानको मुद्धा, सुकुम्बासी समस्या समाधानजस्ता जनताको सवाल नेकपा माओवादी केन्द्रले मात्र अगाडी बढाएका कारण पार्टी प्रवेश गरेको बताए ।
उनले संघीयता, समावेशीताको मुद्धालाई माओवादीले नै अगाडी सारेको र यसको पूर्ण कार्यान्वयनका लागि माओवादीलाई सहयोग गर्नुपर्ने देखिएकाले पार्टी प्रवेश गरेको बताए ।
सबैभन्दा बढी भ्रष्टाचार हुने स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका मानिसहरु रहेको र त्यसको भण्डाफोर आवश्यक भएको भन्दै वाइसीएलमा प्रवेश गर्नेहरुको समेत संख्या बाक्लो छ । केहिदिन अघि सम्पन्न वाइसीएल बुद्धशान्ति र बिर्तामोड नगर सम्मेलनमा समेत कैयन मानिस पार्टी प्रवेश गरेका थिए । बिर्तामोडमा सम्पन्न वाइसीएलको झापा जिल्ला सम्मेलनमा समाजवादी युवा संगठनको प्रदेश अध्यक्ष टाइसन केरुङसहित सयौँ युवाले पार्टी प्रवेश गरेका थिए भने केहि दिन अघिमात्र सोहि संगठनका केन्द्रीय सचिव श्री थेगिम वनेम माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।