कोशीको मन्त्रालयबण्डामा किचलो : कांग्रेस ५ माग्ने दाउमा, मुख्यमन्त्री दिन नसक्ने मुडमा
बिर्तामोड । कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय माग्ने तयारी गरेको हो ।
सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षले २/२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय पाउने गरी ५ मन्त्रालय बाँडफाँटको आन्तरिक सहमति भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।
पार्टीभित्रै आन्तरिक भागबण्डा नमिल्दा हालसम्म कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन । नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक गोपाल तामाङले पनि आन्तरिक छलफलपछि सरकारमा सहभागिताको विषय टुंगो लागेको बताए । ‘औपचारिक जानकारी त छैन, तर पाँच मन्त्रालयको अनौपचारिक जानकारी आएको छ,’ उनले भने, ‘औपचारिक जानकारी आएपछि सरकारमा सहभागी हुन्छौं ।’
कांग्रेसको आन्तरिक भाग मिलाए अनुसारको व्यवस्थापनका लागि कोशीमा मन्त्रालय विभाजन गर्नुपर्छ । तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार छैनन् । मन्त्रालय विभाजन नगरे कांग्रेसलाई सहमतिभन्दा एउटा बढी मन्त्रालय दिनुपर्ने हुन्छ । किनकी ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।
कांग्रेसको आन्तरिक सहमति अनुसार अघि बढ्नका लागि मुख्यमन्त्री कार्कीसँग भएकै मन्त्रालयबाट कांग्रेसलाई पाँच मन्त्रालय दिने वा मन्त्रालय विभाजन गर्ने दुई विकल्प छन् ।
मुख्यमन्त्री कार्की तत्काललाई यी दुबै सम्भावना नरहेको बताउँछन् । प्रदेशमा अहिलेकै अवस्थामा मन्त्रालय नफुट्ने उनले बताए । कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । कांग्रेसको चाहाना विभाजन गरेर ११ बनाउने छ । प्रदेशको आवश्यकता अनुसार विभाजन गर्नुपर्ने कांग्रेस दलका नेता उद्धव थापाले बताए ।
तर मुख्यमन्त्री कार्की कांग्रेसको मागअनुसार सम्भव नभएको बताउँछन् । ‘उहाँहरुलाई पाँच वटा मन्त्रालय दिएर हामी एउटा कममा बस्नु पर्ने अरे ? ९ वटै लिए भयो नि त १ अहिले सम्भव छैन, त्यो (विभाजन) गरिँदैन, उहाँहरुको चाहना होला तर सम्भावना देख्दिन,’ उनले भने, ‘त्यो गर्नै हुँदैन, अहिले सम्भव छैन ।’
केन्द्रबाट प्रदेशलाई बलियो बनाउने गरी थप अधिकार आएमात्रै कांग्रेसको माग पूरा हुन सक्ने मुख्यमन्त्री कार्कीले बताए । ‘माथिबाट प्रहरी समायोजन र अरु अधिकार थपिएपछि (विभाजन) हुने सम्भावना हुन्छ,’ उनले भने, ‘अहिले हुँदैन, त्यो सम्भव छैन ।’
गत १२ साउनमा कांग्रेस एमालेबीच कोशीमा ४–४ मन्त्रालय भागबण्डा गर्ने सहमति थियो । तर नेपाली कांग्रेस भित्र डा. शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय दाबी गरेपछि टुंगो लागेको थिएन । शीर्ष नेताबीच कोशी प्रदेशमा ११ वटा मन्त्रालय बनाउने सहमति भएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रदेशका विषयमा औपचारिक निर्णय आउने उनको भनाइ छ ।