जनयुद्ध जस्तै समाजवादी क्रान्तिको नेतृत्व गर्न तयार छु : प्रचण्ड
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन् । उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गरे ।
शनिबार राजधानीमा भएको कार्यक्रममा दाहालले माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा पार्टीभित्र नेतृत्व, विचारको बहस गर्दै अघि बढेको स्मरण गर्दै पछिल्लो समय पार्टीको अन्तरसंघर्षलाई समाधान गरी समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने बताए ।
‘हामी नयाँ समाजवादी क्रान्तिको तयारीमा छौँ । जसरी जनयुद्धको तयारी अवस्थामा थियौँ । त्यतिबेला आवश्यक विचार, राजनीतिक, संगठन, प्राविधिक तयारी जसरी गरिएको छ,’ उनले भने, ‘समाजवादी क्रान्ति गर्ने तयारीका साथ अघि बढेको छु । त्यतिबेला विचार, लाइन र बहसको विवाद थियो । विवादबीच जनयुद्ध यहाँसम्म आइपुग्यो । अहिले आत्तिनुपर्ने कारण छैन । यो बहसले पार्टीलाई अझै एकताबद्ध बनाउने छ । माओवादीले समाजवादी क्रान्तिको नेतृत्व गर्छ भन्ने विश्वास छ ।’
उनले स्थायी समितिमा आफू र उपमहासचिव जनार्दन शर्माबीच भएका आशंका समाधान भएको दाबी गर्दै शर्माले पार्टी विभाजन गर्ने भ्रमको अन्त्य भइसकेको बताए । आफू र शर्माबीच विवाद हुनुलाई ‘अगुल्टो ठोसेर आगो बाल्ने’ नीतिको रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।
‘मेरो र प्रभाकर (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैँ हुने गरेकै छ । यो आगो बाल्नु, खाना पकाउनका लागि भएको छ,’ उनले भने, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने, बाहिर गएपछि धारे हात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन ।’