कांग्रेसको आन्तरिक भागबण्डा विवादले कोशी सरकार विस्तार अन्योलमा
बिर्तामोड । सत्ता साझेदार दल नेपाली कांग्रेसको आन्तरिक विवादले कोशी प्रदेश सरकार विस्तारमा अन्योल भएको छ । संस्थापन पक्ष र शेखर कोइरालाबिच मन्त्रालयको संख्यामा सहमति नहुँदा सरकार विस्तारमा ढिलाई भएको हो ।
नेकपा एमाले र नेपाली कांग्रेसबिच ४-४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन ।
चार वटा मन्त्रालय पाएको कांग्रेस संस्थापन पक्षले २ वटा राखेर डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले १-१ दिने तयारी गरेको थियो । तर, कोइराला पक्षले दुई वटा मन्त्रालय मागेपछि कांग्रेसमा सहमति जुट्न नसकेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएपछि कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले साउन ११ गते राजिनामा दिएका थिए । माओवादीका मन्त्रीहरुले राजिनामा दिएको २ हप्ताबढी समय भइसकेपनि नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पठाउन सकेको छैन ।
नेकपा माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगड पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए ।