केपी ओली ४५औँ प्रधानमन्त्री नियुक्त हुँदै
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली ४५औँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज प्रधानमन्त्री नियुक्ति गर्ने भएका हुन् ।
नेपाली कांग्रेस र एमालेले असार १७ गते मध्यरातमा व्यवसायी रामेश्वर थापाको घरमा संविधान संशोधन लगायतका केहि बुँदामा सहमति गर्दै सत्ता सहकार्य गर्ने सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अल्पमतमा परेका थिए । असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए । सो आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।
तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।