२०८३ बैशाख २१ गते , सोमबार

पालिका अध्यक्षमा पराजित सिंह बने मधेशको मुख्यमन्त्री

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २५ गते , शुक्रबार
पालिका अध्यक्षमा पराजित सिंह बने मधेशको मुख्यमन्त्री

विराटनगर । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनले नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पदमुक्त हुँदा प्रदेश प्रमुखले त्यहि दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आजसम्मको समय दिएकी थिइन् ।
पालिका अध्यक्षमा पराजित भएपछि सिंह जनमतमा प्रवेश
गत स्थानीय तहको निर्वाचनमा पराजित भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका सतिशकुमार सिंह जनमत पार्टीमा प्रवेश गरेको डेढ वर्षमै मधेसको मुख्यमन्त्री बन्न सफल भएका छन् । 
२०७९ को स्थानीय तह निर्वाचनमा लोसपाबाट सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि उनी आम निर्वाचनअघि जनमत पार्टी छिरेका थिए ।
पालिका अध्यक्षमा कांग्रेसका अरुणकुमार मंडलले ५ हजार ४७४ मत ल्याउँदा सिंह ३ हजार ६४६ मत पाएर दोस्रो भएका थिए । २०७४ को स्थानीय निर्वाचनामा भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सिंह तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ भदौ ९ मा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेपछि सिंहलाई फलिफाप भएको छ । जनमतको प्रदेश सभा सदस्यसमेत रहेका सतिशका बुबा शेखर सिंह भने अहिले पनि लोसपाबाटै राष्ट्रिय सभाका सदस्य छन् । विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट २०६९ मा छुट्टिएर शरतसिंह भण्डारीको नेतृत्वमा बनेको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)बाट सतिशको राजनीतिक यात्रा सुरु भएको थियो ।

सम्बन्धित समाचार