एमाले बिर्तामोडको नेतृत्वका लागि आज निर्वाचन हुँदै
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि बिर्तामोड नगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।
अध्यक्ष पदका लागि सुवास भट्टराई र शेखर कँडेलबीच प्रतिस्पर्धा हुँदैछ । भट्टराई वर्तमान नगर कमिटीका अध्यक्ष र कँडेल सचिव हुन् । त्यस्तै उपाध्यक्षमा मदन बुढाथोकी र राहुल शर्माले उम्मेदवारी दिएका छन् । बुढाथोकी बिर्तामोड ३ र शर्मा बिर्तामोड ४ का वडाध्यक्ष हुन् ।
त्यस्तै सचिव पदमा अम्बिका लिङ्देन र लक्ष्मीप्रसाद बाँस्कोटाको उम्मेदवारी परेको छ भने एक उपसचिव खुल्ला पदमा चारजनाले मनोनयन दर्ता गराएका छन् । गंगालाल राजवंशी , प्रदीपकुमार संग्रौला , प्रदीप मिलन खरेल र हिमाल कन्दङ्वा उम्मेदवार बनेका छन् । त्यस्तै उपसचिव महिला पदका लागि चन्द्रकला संग्रौला पकुवाल र डिल्लीमाया आचार्यले उम्मेदवारी दिएका छन् । अन्य सदस्य पदका लागि पनि प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन समितिले हिजो साँझ ७.३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । आज बिहान ११.३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि दिउँसो २ देखि ५.३० बजेसम्म मतदान कार्यक्रम राखिएको निर्वाचन संयोजक राजेन्द्र भट्टराईले जनाएका छन् ।
राजनीतिक वृत्तमा महत्व राख्ने बिर्तामोडको नेतृत्व चयनका लागि एमाले नेताहरु आआफ्नो टिम बनाएर लागेका छन्। पटक पटक एकै व्यक्तिले नेतृत्वको लोभ गर्न नहुने र नेतृत्व हस्तान्तरण गर्दै लैजानु पर्ने एकथरीको मत छ भने एकथरी प्रतिनिधिहरू आगामी चुनावमा मेयरको प्रत्यासी भट्टराईलाई जिताउनु पर्ने बताउँछन्।