२०८३ बैशाख २१ गते , सोमबार

संसद अवरोध खुल्ने सम्भावना

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ६ गते , आईतबार
संसद अवरोध खुल्ने सम्भावना

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण अवरुद्ध बन्दै आएको संसद खुल्ने सम्भावना बढेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका दलहरूबीच संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै संसद अवरोध खुल्ने सम्भावना बढेको हो।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएसँगै प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग राख्दै केही समयदेखि संसद अवरुद्ध पार्दै आएको थियो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो । 
बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 
लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधि भोलि बिहान बसेर टुंग्याउने छन् ।  कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् । माओवादीबाट भने प्रतिनिधि छैन । 
उनले भने, ‘आज हामी मुख्य दलको शीर्ष नेताहरूको बैठक बस्यो । प्रधानमन्त्रीजी, नेपाली काँग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नुभएको हो । भोलिको सदनको विषयलाई लिएर छलफल भयो । सकारात्मक रूपमा नै अघि बढ्छ । समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रूपमा समान धारणा बनेको छ, यो उपलब्धि र सकारात्मक रूपमा बुझ्नुपर्छ । कानुनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ । संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ ।’
बैठकमा गृहमन्त्रीको नाम तोक्ने नतोक्नेबारे छलफल नभएको प्रमुख सचेतक लेखकले बताए। उनले उक्त विषय कार्यादेश बनाउँदा छलफल हुने बताए । 
सहकारीबारे संसदीय छानबिन समिति बनाउनेमा सबै दलको सहमति रहेको समेत लेखकले बताए ।

सम्बन्धित समाचार