सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने काँग्रेसको अडान
झापा । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।
उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘हामीले पटक-पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँलाई भेटेका छौँ । हामीले स्वयं गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् भनेका हौँ । हामी सहयोग पुर्याउन चाहन्छौँ । अर्बौं घोटालाको कुरा छ । अर्बौं अपचलनको कुरा छ । गृहमन्त्रीमाथि लागेको यति ठूलो आरोपमा छानबिन नै नगरी क्लिन चिट दिन कसरी मिल्छ ?'
उनले कांग्रेसले सो प्रकरणमा जोडेर गृहमन्त्रीको राजीनामा नमागेको दाबी गरे । 'अहिले त हामीले राजीनामा पनि मागेका छैनौँ । संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईंहरु नै हुनुहन्छ भनेका हौँ। छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने हो? निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने त होइन,' उनले भने ।