कोशीमा नयाँ सरकार गठनका लागि आह्वान, मुख्यमन्त्री कार्की असन्तुष्ट
झापा । प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर कोशीमा नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
खापुङले कार्की अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत नलिएको निष्कर्षसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
कोशीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
२६ चैतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीले आफूहरुले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले २५ वैशाखसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए । र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए २५ वैशाखपछि पदमुक्त हुने व्यहोराको संकल्प प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो ।
मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ (५) बमोजिमको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने अडान राख्दै आएका थिए ।
बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीले विश्वासको मत नलिई ३० दिन गुजारेकाले सरकार रिक्तताको अवस्था रहेको भन्दै नयाँ सरकार गठन आह्वान गर्न माग गरेका थिए ।
प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय पनि माग गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले राय पठाएपछि राति ११ बजे नयाँ सरकार गठन आह्वान गरिएको हो ।
सरकार गठनको आह्वान भएपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा भोलि नै एमाले संसदीय दलका नेता हिक्कमतकुमार कार्कीले दाबी पेश गर्ने तयारी गरेका छन् । भोलि दाबी पेश गर्ने तयारी भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग ४० र माओवादी केन्द्रसँग १३ सांसद गरी ५३ जना सांसद रहेकाले सरकार निर्माणका लागि दुई दलसँग बहुमत छ ।
सरकार गठनको आह्वानका विरुद्ध मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन् । उनी सर्वोच्च जानुअघि नै मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्ने तयारी छ ।
असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक कदम चालेको बताएका छन् । एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको बताएका हुन् । उनले भने ‘संविधानले दुई वटा सरकारको परिकल्पना गरेको छैन ।’
मुख्यमन्त्री कार्कीले आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दबी गरे । ‘यो असंवैधानिक कदम भयो’, मुख्यमन्त्री कार्कीले भने । उनले प्रदेश प्रमुखको कदम विरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् ।