पूर्वलाई बुझ्न नसक्दा गम्भीर त्रुटि भयो - हरिबोल गजुरेल
बिर्तामोड । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समाजवादी चेतनाको केन्द्र पूर्व हो भन्ने यथार्थ नबुझ्नु पार्टीको गम्भीर त्रुटि भएको बताए ।
'माओवादी क्रान्तिको केन्द्र पश्चिम थियोे र हो, समाजवादको आधार पूर्व हो ' योङ कम्युनिस्ट लिग झापाको छैटौँ जिल्ला भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै उनले भने, 'पूर्वको समाजवादी चेतनासँग पार्टीलाई जोड्न नसक्नु गम्भीर गल्ती भयो, पार्टी बेहाल हुनुको मुख्य कारण नै यही हो ।' क्रान्ति पछि पार्टी जीवनको आधार पूर्व बन्यो भनेर घोषणा गर्न नसक्नु गम्भीर गल्ती भएको उनको तर्क छ । पूर्वको चेतनासँग जोड्न नसक्दा पार्टीको दुर्गति भएको उनको भनाई थियो । उनका अनुसार पार्टी निर्माणको केन्द्र पूर्वलाई बनाउन नसक्नु गल्ती थियो । 'पूर्वको चेतना पश्चिम पुग्न नसकेको, एकजना स्थायी समिति सदस्य पनि पूर्वबाट नभएको आदि कुराहरु छन्,' उनले भने ।