माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपालाई ओलीले दिए धन्यवाद
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपालाई धन्यवाद दिएका छन् ।
मंगलबार विजय सभालाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन सहयोग गरेको भन्दै ओलीले धन्यवाद दिएका हुन् । उनले भने, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’
अध्यक्ष ओलीले कोशी साझा नाम भएको बताएका छन् । उनले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । उनले भने, ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमती लगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’
नेम्बाङले १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजय हासिल गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको थियो ।