इलाम-२ मा निर्वाचन सम्पन्न, ५७ प्रतिशतले हाले भोट
इलाम । इलामको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न निर्वाचनमा करिब ५७ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा करिब ६६ हजारले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।
मतगणना शनिबार नै सुरु गर्ने तयारी छ ।
सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भने ।
भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।
मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।