राष्ट्रियसभाको अध्यक्ष टरेपछि आफुलाई धोका दिएको भन्दै रिसाए सिटौला
बिर्तामोड । राष्ट्रियसभाको अध्यक्ष बन्ने सम्भावना कम भएपछि नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रिसाएका छन् । अध्यक्ष प्रचण्डसँगको भेटमा नेता सिटौला प्रचण्डले आफुलाई धोका दिएको भन्दै रिसाएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिटौला आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए । ‘आज हामी तपाईंलाई प्रधानमन्त्रीको रूपमा भेट्न आएको होइन । विगतको गठबन्धनमा हरेका एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ,’ सिटौलाले भने, ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो ।’
सिटौलाले राष्ट्रियसभा अध्यक्षमा आफूलाई के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ । तपाईंले नै नेपाली कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छोड्न सकिन्छ भन्नुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको उहाँ आउँदा ठिक छ भनेर भनेपछि नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अब के गर्नु हुन्छ ? अहिले मलाई तपाईले धोका दिन मिल्छ?’
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए । फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।
‘तपाई चार–पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ । मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाई होइन होइन भन्नुहुन्छ । तपाईले किन झुट बोल्नुभएको ? गठबन्धनका दलसँग किन छलफल गर्नु भएन ?,’ उनको प्रश्न थियो ।
सिटौलाले गिरिराजप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए । ‘नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ ।’ सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए ।