इलाम २ मा उम्मेदवार बन्न एमालेका ६ जना आकांक्षी
झापा । इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारका लागि ६ जनाले निवेदन दिएका छन् । स्वर्गीय सुवासचन्द्र नेम्बाङका पुत्र सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि निवेदन लिएका हुन् ।
एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिए ।
उनका अनुसार निवेदन दिनेहरुमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।
सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय सभापति पनि हुन् । देवी क्षेत्री दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोशी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई भने नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए ।
उम्मेदवार छनोट समितिका सचिव गुरुङले आज बेलुकासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताए । ‘त्यसमा पनि सहमति नजुटे ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइसक्ने तयारी छ,’ गुरुङले भने ।
गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ ।