फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते नेकपा एमाले, रास्वपालगायत दलसँगको सत्ता साझेदारीमा नयाँ सरकार गठन गरेसँगै दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् । दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए । दाहालले दलको बैठकमा भनेका थिए, ‘सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौं ।’
माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्वीप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ ।
सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।
यसबीचमा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ भने प्रधानमन्त्रीले पनि सरकार अन्य दलहरूलाई सहभागी गराउन छलफल गरिरहेका छन् ।