तोडियो कांग्रेससँगको गठबन्धन, नयाँ समिकरण निर्माण
काठमाण्डौ । नेपाली कांग्रेससँगको गठबन्धन एक बर्षपछि तोडिएको छ । गत बर्ष फागुनमा नेपाली कांग्रेससँग बनेको नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धन आजबाट तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।
उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
केहि दिनदेखि सरकारको कार्यसम्पादन प्रति असन्तुष्ट जनाउँदै आएका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरु हेरफेर गर्ने कोशिस गरेपनि नेपाली कांग्रेस नमानेका कारण प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका थिए । अन्ततः प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँगको सहमतिमा नयाँ गठबन्धन निर्माण गरेका छन् ।