राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज
झापा । आज राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यहरुले शपथ लिँदैछन् । गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।
रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिन लागेका हुन् । उनीहरुलाई आइतबार स्वागत गरिएको थियो ।
आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल ९पार्वती०, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई विमला राई पौड्याल, रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा, नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारीको विदाई गरिएको थियो ।
रिक्त २० मध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।
१९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।