सरकारको कामप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैं असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताए ।
‘हाम्रा प्रतिबद्धताहरु अर्को ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैंले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौं । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरु अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ,’ उनले भने ।
उनले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको उल्लेख गरे । उनले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको पनि धारणा राखे ।
प्रधानमन्त्री दाहालले अर्थमन्त्री प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए ।
‘हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्नेकुरा देखियो । हामीले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको छ।
माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिको पनि प्रधानमन्त्रीले बताए । ‘अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । पुँजी निर्माण नभइ विकासले गति लिँदैन भन्नेकुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धी किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन,’ प्रधानमन्त्री दाहालले भने ।