२०८३ बैशाख २१ गते , सोमबार

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, झापाबाट ३२ बुँदे सुझाव

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १ गते , मंगलबार
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि, झापाबाट ३२ बुँदे सुझाव

बिर्तामोड । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट शुरु हुँदैछ । काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अधिवेशन फागुन ३ गतेसम्म चल्ने छ । पार्टीको जिल्ला समन्वय समिति झापाले विधान संशोधनका लागि ३२ बुँदे सुझाव तयार पारेको छ ।

जिल्लाको माघ २१ गते बसेको छैटौँ पूर्ण बैठकले पार्टीको नाम, चुनाव चिन्ह, सांगठनिक स्वरुप र अन्य सहित ३२ बुँदामा सुझाव संकलन गरेको जिल्ला संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको बैठकबाट विभिन्न ८ वटा समूहमा छलफल भएको थियो । संयोजक आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)को प्रमुख आतिथ्य रहेको थियो । प्रदेश समितिको सर्कुलर तथा विधान मस्यौदामाथिको औचित्य कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)ले प्रष्ट्याएका थिए भने टिप्पणीहरुको जवाफ मौसमले दिएका थिए ।

सुझाव टिपोट समितिका सदस्यहरु भानु दंगाल, एनपी वनेम र दिपीन राईले तयार पारेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) राखेर सम्पूर्ण समाजवादी शक्तिहरुलाई एकिकृत गर्न सुझाव दिइएकोछ भने पार्टीको चुनाव चिन्ह दुई अक्षरको राख्न प्रस्ताव गरिएको छ ।

सांगठनिक स्वरुपमा सबै कमिटिहरु प्रत्यक्ष निर्वाचित हुनुपर्ने, सदस्यता दिने उमेर हद १८ बर्ष र पार्टीको जिम्मेवारी लिने उमेर हद ७० बर्ष कायम गर्नु पर्ने, योगदान, योग्यता र क्षमताका आधारमा पार्टीको जुनसुकै कमिटिमा मनोनित र निर्वाचित हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, जिल्ला समन्वय समितिलाई पदाधिकारीसहितको कार्यकारी अधिकार दिइनुपर्ने, एक व्यक्ति एक पदको व्यवस्था गरिनुपर्ने जस्ता सुझाव समेटिएको प्रतिवेदन लेखन समितिका सदस्य भानु दंगालले जानकारी दिए ।

प्रतिवेदन जिल्ला संयोजक आचार्यलाई हस्तान्तरण गरिएकोछ । 

सम्बन्धित समाचार